२०८३ साउन २१ गते बिहीबार

समाचार

यातायात मजदुरको आन्दोलनले काठमाडौं तनावग्रस्त, प्रहरीकाे भ्यान जल्याे, मलमा तोडफोड

यातायात मजदुरको आन्दोलनले काठमाडौं तनावग्रस्त, प्रहरीकाे भ्यान जल्याे, मलमा तोडफोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १ गते सोमबार ०९:२१

प्रहरीद्वारा ढुंगामुढा गर्ने, प्रदर्शन गर्नेहरूमाथि लाठी चार्ज, अश्रुग्यास प्रहार । चार जना नियन्त्रणमा । शान्तिपूर्ण कार्यक्रम गर्न लागेका मजदुरहरू एकाएक आन्दोलित

पोखराकाठमाडौंको बालाजु बसपार्क क्षेत्र सोमबार अपराह्नदेखि अशान्त बनेको छ । यातायात मजदुर र उनीहरूका संगठनहरूले आन्दोलन गर्दा बालाजु क्षेत्र तनावग्रस्त बनेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात संघले संयुक्त रूपमा गरेको आन्दोलन उग्र बन्न पुगेको हो ।
आन्दोलनका क्रममा उनीहरूले दुइटा प्रहरी भ्यान, प्रहरी बिट जलाइसकेका छन् । ट्राफिक आइल्यान्ड भत्काएका छन्। प्रहरीमाथि ढुंगामुढा पनि गरेका छन्। त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका छन् ।

तीन वटा संगठनका प्रतिनिधिहरूको टोली आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गएको थियो । आफ्ना दसबुँदे मागहरू पूरा गर्नुपर्ने अडान उक्त टोलीले राखेको थियो ।

टोलीका अनुसार छलफलका निष्कर्षहरू र फागुन ३ गतेदेखि देशव्यापी रूपमा गरिने आन्दोलनका विषय सार्वजनिक गर्ने भन्दै सोमबार दिउँसो एक बजे मजदुरहरूलाई गोंगबुको नयाँ बसपार्कमा बोलाइएको थियो । मजदुरहरू त्यसैअनुसार नयाँ बसपार्कमा भेला भएका थिए ।

मजदुरहरूमाथि आक्रमण भएको भन्दै उनीहरूले थप आन्दोलनको घोषणा गरेका थिए । उनीहरूले बालाजु क्षेत्रमा गाडी तेर्साएर सडक अवरूद्ध गरे । कार्यक्रम पनि सञ्चालन गरे ।

त्यसैबीच एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि आफ्ना माग पूरा नहुन्जेलसम्म काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरे । काठमाडौं उपत्यका बाहिरको हकमा पछि निर्णय गर्ने पनि बताए ।

यता भीड बढ्दै गए पनि बाटो अवरूद्ध हुँदा प्रहरी पुग्न कठिन भइरहेको थियो । प्रहरीले समयमै भीडलाई नियन्त्रण गर्न पनि सकेन । प्रहरी पुगेसँगै भीड उग्र भएर ढुंगामुढा गर्न थालेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्‍ता एवं एसएसपी हिमालयनकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरूले प्रहरीका भ्यानमाथि पनि तोडफोड गरी जलाए । सुरूमा भीडले ढुंगामुढा र तोडफोड गर्दा पनि प्रहरीले बल प्रयोग नगरेको एसएसपी श्रेष्ठको भनाइ छ। सर्वसाधरणको बाक्लो उपस्थितिले गर्दा प्रहरी पुगे पनि जवाफी बल प्रयोग नगरेको उनले बताए ।

ुउनीहरू उग्र बने पनि प्रहरीले छेकेर बस्यो । किनभने सर्वसाधारणका सवारीसाधन, पैदलयात्रु, बटुवाहरू थिए । उनीहरूलाई क्षति पुग्छ भनेर प्रहरीले बल प्रयोग गरेन,ु उनले भने, ‘यसो गरिबस्दा एकतर्फी प्रहार भइरह्यो ढुंगामुढा हुँदा केही प्रहरी घाइते पनि भए ।’

प्रहरीले ढुंगामुढा गर्ने, प्रदर्शन गर्नेहरूमाथि लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको छ । चार जनालाई नियन्त्रणमा पनि लिएको छ । वार्ता भएर गाडी चलाउने निर्णय नै भइसकेर शान्तिपूर्ण कार्यक्रम गर्न लागेका मजदुरहरू एकाएक आन्दोलित बनेको उनले बताए ।

यातायात मजदुरहरूले दस बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो ।

आइतबार मजदुरका प्रतिनिधिहरू भौतिक पूर्वाधार मन्त्रालयमा पुगेर वार्ता गरेका थिए । उनीहरूले तत्काल सम्बोधन गर्न सकिने विषयहरू राखेका थिए ।

यसअघि ट्राफिक नियम उल्लंघन गरे पाँच सय, एक हजार र एक हजार पाँच सय रूपैयाँ जरिवाना हुने व्यवस्था थियो । पुस ३ गतेदेखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना नै एक हजार पाँच सय रूपैयाँ हुने नियम ल्यायो । यातायात मजदुरहरूले यसमा असन्तुष्टि जनाए। छलफलपछि यो व्यवस्था स्थगित गर्ने निर्णय भएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले पनि यसलाई पुरानै व्यवस्थाअनुसार न्यूनतम पाँच सयदेखि एक हजार पाँच सय रूपैयाँसम्म नै गरेको बताइन् ।

यातायातका मजदुरहरूले देशको एक मात्र केन्द्रीय बसपार्कलाई पनि सरकारले निजी कम्पनीलाई ठेक्कामा दिएको भन्दै गुनासो गरेका थिए । पार्किङहरू निजी कम्पनीलाई दिँदा मजदुरहरूबाट उनीहरूले चर्को शुल्क असुली गरिरहेको उनीहरूको भनाइ छ ।

चालकको लाइसेन्स नवीकरणमा ६० वर्षे उमेरको हदले गर्दा क्षमता भएकाहरू पनि बेरोजगार बन्न बाध्य भएकाले ऐनमा रहेका उक्त व्यवस्था हटाउन माग गरेका थिए । त्यस्तै चक्रपथमा चल्ने सवारीसाधनका लागि पार्किङ नभएकाले व्यवस्था गरिदिन पनि माग गरेका थिए ।

प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ०९:२१
हजुरको प्रतिक्रिया