मानिसहरुले अहिले हातमा सिंगो विश्व लिएर हिँडिरहेका छन् । अहिलेको डिजिटल दुनियाँमा क्षणभरमै विश्वका खबर हातमै आइपुग्छ, अनलाइनका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट वा टेलिभिजनका माध्यमबाट । तर, सूचना प्रविधिले जसरी विश्वलाई साँगुरो बनाइदिएको छ, उसैगरी गलत सूचना र अविश्वसनीय सामाग्रीको विगबिगी झनै बढेर जाँदा आमसञ्चारका क्षेत्रमाथि चुनौति थपिएका छन् । सामाजिक सञ्जाल र विभिन्न डिजिटल माध्यमका अफवाहपूर्ण सामाग्रीले हस्तक्षेप गर्दै जाँदा आम नागरिकका मुद्धा, सरकार, सरकारका संयन्त्रलाई खबरदारी गर्ने विश्वसनीय सामाग्री र तथ्यगत सूचनाको अभाव चिन्ताको विषय बनेको छ । पब्लिकका आवाज, आवश्यकता, समस्या र जनजीविकासँग सम्बन्धित सामाग्री पस्कँदै सरकारका निकायलाई खबरदारी र जिम्मेवार बनाउनुपर्ने अहिलेको आवश्यकतालाई पूरा गर्नकै लागि आज हामी प्रजातन्त्र दिवसकै अवसरमा यो ऐतिहासिक क्षणमा उभिएका छौं ।
पब्लिक फोर के टेलिभिजन गण्डकी प्रदेशलाई आधारभूमि बनाएर पोखराबाट देशैभरि आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । खबरबाट कोही पनि बेखबर नरहुन् भन्ने मान्यतामा प्रतिबद्ध रहँदै ‘अब बोल्ने पालो पब्लिकको’ भन्ने उद्घोषका साथ टेलिभिजनले सञ्चार क्षेत्रमा पाइला टेकेको छ । पब्लिक टेलिभिजनको अभिभावक संस्था बार्दली मिडिया सञ्चार क्षेत्रको विभिन्न आयामहरुमा काम गर्दै आइरहेको संस्था हो । अहिले सञ्चार माध्यमको अति नै महत्वपूर्ण र प्रभावकारी मानिने टेलिभिजनलाई दर्शकमाझ ल्याएको छ । टेलिभिजनको अनलाइन संस्करण पनि आजदेखि औपचारिक रुपमा पाठक माझ शुभारम्भ भएको छ । यस अनलाइन मिडियालाई पब्लिक टेलिभिजनको आधिकारिक न्युज पोर्टल अनलाइन संस्करणको रुपमा प्रस्तुत गरेका छौ । पत्रकारिताको मूल भाव सत्य, तथ्य र सन्तुलित सूचना तथा समाचारलाई पाठक माझ ल्याउन हामी प्रतिबद्ध छौं ।
नाम जस्तै पब्लिक टेलिभिजन र यसको अनलाइन संस्करण ‘पब्लिक’का लागि र ‘पब्लिक’को आवाजलाई प्राथमिकता दिदैं अगाडि बढ्नेमा हामी प्रतिबद्ध छौं । www.publictv.com.np न्यूूज पोर्टलमा हामी समाज, राजनीति, मनोरञ्जन, विचार, खेल, सूचना प्रविधि, भिडियो समाचार, विश्लेषणलाई समेट्छौं ।
शब्द, आवाज र दृश्यको संगमलाई डिजिटल माध्यमबाट प्रस्तुत गर्ने हाम्रो जमर्कोमा तपाईँको साथ आवश्यक छ । जनताका आवाज र आवश्यकताको उचित सम्वोधन गर्न र जनतालाई न्याय निरुपण गर्न संघीय व्यवस्थामा ३ तहका सरकार पनि चुकिरहेको आभास भइरहेका छन् । संघीय व्यवस्थालाई बलियो बनाउँदै जनताका भावनाअनुरुप राज्यका संयन्त्रलाई खबरदारी गर्न हामी हरदम लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं । पत्रकारिताको मुल मर्मलाई आत्मसात गर्दै आम पाठक तथा दर्शकलाई सुसूचित गराउँदै समाजको आवाज बन्न आएका छौं । यहाँहरुको साथ, सहयोग र विश्वासका साथ हामी अघि बढ्दैछौ ।
प्रकाशित मिति २०७९ फागुन ७ गते आइतबार ०२:१८




