फागुन २५ देखि रात्रिकालीन उडान गर्ने बुद्धको तयारी
पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली भोलिदेखि लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान उडान र अवतरण गर्न सकिने भएको हो । ‘राति उडानको लागि विमानस्थल भोलिदेखि तयारी अवस्थामा हुन्छ,’ विमानस्थल प्रमुख विक्रम गौतमले भने,‘बिमान कम्पनीलाई जानकारी गराइसकेका छौं, उडानको तालिका कम्पनीले नै ल्याउने हो ।’
आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । आइएफआर प्रणाली लागू हुनेभएपछि अन्तर्राष्ट्रिय बिमान कम्पनीहरुले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि चासो देखाएको क्यानको भनाइ छ ।
फागुन २५ देखि राति उडान गर्ने बुद्धको तयारी

आन्तरिक उडानमा सबैभन्दा ठूलो बुद्ध एयरले पोखराबाट रात्रिकालीन उडान गर्ने तयारी गरेको छ । आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान विस्तारको योजना बनाएको बुद्धले रात्रिकालीन उडानको तयारी गरेको हो ।
‘हामीले मार्च ९ तारिख अर्थात फागुन २५ देखि पोखराबाट राति उडान गर्ने योजना छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने,‘ ४ वटा जहाज रातिको समयमा पोखरा विमानस्थलमा नै रहने छन् ।’ उनका अनुसार बुद्धले पोखराबाट जुन÷जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ । बुद्धसँग ७२ सिट क्षमताका एटीआर–७२ ११ वटा, ४७ सिट क्षमताका एटीआर–४२ ३ वटा जहाज छन् ।
प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०१:५१




