२०८३ साउन २१ गते बिहीबार

चितुवा बजार पसेपछि…

चितुवा बजार पसेपछि…

सुमन जङ्ग थापा

@Public 4K Tv

२०७९ चैत ८ गते बुधबार ०५:४३

वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, “भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्काएपछि चितुवा खोरमा पस्यो । बेहोस नबनाईकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ ।”

कुश्मा

पर्वतको कुश्मा बजारमा बुधबार बिहानै चितुवा देखा पर्यो। चितुवा बजार छिरेको थाहा पाएपछि कुश्माबासीहरु “बाघ आयो रे बाघ” भन्दै तँछाडमछाड गर्दै कुश्मा नगरपालिका–४ भण्डारी टोलमा पुगे ।

बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भिड देखेपछि भाग्नलाई बाटो खोजेपछि चितुवा ओम बहादुर रेग्मीको पहेँलो घरको भान्छा कोठामा पस्यो । चितुवा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनका कर्मचारी तैनाथ भैसकेका थिए । घरका परिवारलाई बाहिर निकालेर प्रहरीले ढोकामा चापी लगायो ।

“करिब ३ घण्टामा चितुवालाई सकुशल नियन्त्रणमा लियौँ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक प्रकाश राउतले भने, “कुनै पनि अप्रिय घटना हुन पाएन । पोखरा वन कार्यालयको उद्धार टोलीले चितुवालाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर पोखरा लगिसकेको छ ।” चितुवा हेर्न आउनेको भिड हटाउन प्रहरीलाई मुस्किल परेको थियो ।

डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिनु परेको थियो । “हामीले भेटनरी डाक्टर, वन अधिकृत र सशस्त्र वन रक्षक टोलीसहित वन्यजन्तु एम्बुलेन्स पठाएका थियौँ ।” वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले भने, “भान्छा कोठाको ढोकामा खोर राख्यौँ र छेउको झ्यालबाट जिस्काएपछि चितुवा खोरमा पस्यो । बेहोस नबनाईकनै सकुशल नियन्त्रणमा लिन सक्यौँ ।”

नियन्त्रित चितुवालाई प्राकृतिक वासस्थानमा नै छाडिने वन कार्यालय कास्कीका सहायक वन अधिकृत पराजुलीले जानकारी दिए । ‘भाले चितुवा भएको भए कास्की वन्यजन्तु उद्धार केन्द्रमा राख्ने सोचेका थियौँ । तर, त्यो पोथी चितुवा रहेछ । हामी सँग पोथी चितुवा भएकै स्थितमा फेरि अर्को पोथी चितुवालाई साथमै उद्धार केन्द्रमा राख्न सक्दैनौँ ।’

चितुवाको कारण पर्वत सामाजिक सञ्जालमा चर्चित बन्ने गरेको छ । डेढ वर्ष अघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । दुई हप्ता अघि पनि फलेवासमा मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०५:४३

हजुरको प्रतिक्रिया