पोखराबाट ७ लाख ७५ हजारकाे पाठ्यपुस्तक बिक्री
पोखरा
नयाँ शैक्षिकसत्र सुरु भएसँगै ५९ जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुरयाउने गरी काम भइरहेको बताए ।
जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरेको छ । अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्नेछ । दुर्गम हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा समेत पाठ्यपुस्तक पुगेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छापिएको हो । जनक शिक्षा सामाग्री केन्द्रको प्रादेशिक कार्यालय पोखराबाट ७ लाख ७५ हजार ६ सय पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ ।
प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०८:१८




