पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वास मत पाउने सम्भावना नभएकाले गण्डकी प्रदेशमा नयाँ सरकार बन्ने निश्चित भएको छ ।
गण्डकी प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दल नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
समर्थन फिर्ता भएको ३० भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा माओवादीले गत चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२ जना सांसद छन् । बहुमत पुग्न ३१ सांसद चाहिने भएपनि माओवादीले साथ छोडेपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । गण्डकीमा कांग्रेसका २७, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् ।
मंसिर ४ गते अघिको गठबन्धन भत्किएर केन्द्रमा पुस १० गते नेकपा एमाले, माओवादी लगायतका दलको गठबन्धन बनेपछि अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए । तर, नेकपा माओवादी केन्द्र फागुन १२ गते नेपाली कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि अधिकारी नेतृत्वको सरकार धरापमा परेको थियो ।
प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार ०९:२२




