पोखरा
तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । २७ हजार ४४ मतगणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता छ । वाग्लेले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन् ।
स्वर्णिमले १३ हजार ७४९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराइसँग स्वर्णिमको मतान्तर ५ हजार ७१३ छ । भट्टराइले ८ हजार ३६ मत पाएका छन् ।
नेकपा एमालेका सर्वेन्द्र खनालले जम्मा ४ हजार ३९४ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले १११ मत पाएर चौथो स्थानमा छन् । अरु पाँच उम्मेदवारले भने २ अंक कटाउन मुस्किल छ ।
४२ मध्य २० वडाको मतगणना सकिएको छ । सत्ता गठबन्धनको दबदबा रहेको भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा भट्टराइको पक्षमा अपेक्षा गरेको भन्दा कम मत खसेको छ ।
तनहुँ १ मा ६३ हजार ७५७ मत अर्थात ५१.७० प्रतिशत मत खसेको छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता थिए ।
मंसिर ४ मा भएको निर्वाचनमा भने तनहुँ १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएर सांसद पद रिक्त भएपछि उपनिर्वाचन भएको हो ।
त्यतिबेला रामचन्द्र पौडेलले २५ हजार ३६१ मत पाएर निर्वाचित हुँदै छैठौं पटक संसद प्रवेश गरे । यो उनको सातौं चुनावी भिडन्त थियो ।
पौडेल ५ हजार ३८० मतान्तरले विजयी भएका थिए । उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरे । उनी त्यतिबेलाको स्वतन्त्र उम्मेदवार हुन् । नेपाली कांग्रेसले उनिर्वाचनको संघारमा जोशीको कारबाही भने फुकुवा गरेको छ ।
अहिले सुरुवातदेखि नै अग्रता कायम गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ को निर्वाचनमा चौथो शक्ति बनेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए ।
राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए । मंसिर ४ मा तनहुँ १ को चुनावी मैदानमा १५ उम्मेदवार थिए । ५ जना उम्मेदवार बाहेकले ३ अंक कटाएर मत पाउन सकेनन् ।
मंसिर ४ को चुनावमा ६६ हजार २९६ मत खसेको थियो । १ लाख २३ हजार ४९० मतदाता थिए ।
प्रकाशित मिति २०८० वैशाख ११ गते सोमबार ०२:१४



