पोखरा
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने निश्चित भएको छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा लामिछाने ३३ हजार भन्दा बढी मत अन्तरले अगाडि छन् । ५६ हजार ५ सय ७ मत गणना हुँदा सभापति लामिछानेले ४१ हजार ५ सय ४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ६ सय ९५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ३ सय ९९ मत पाएका छन् ।
रवि लामिछाने जितनारायण भन्दा ३३ हजार ८ सय ९ मत अन्तरले अगाडि छन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।
बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । सार्वजनिक मत परिणाम अनुसार यादवले १० हजार १ सय ९९ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ८ सय ८ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ११ मत पाएका छन् । रास्वपाका रमेशप्रसाद खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५ सय ८७ मत ल्याएका छन् । यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०८:३२




