पोखरा
संघीयता कार्यान्वयनको पहिलो कार्यकालभरि स्थानीय तह र प्रदेशबीच समन्वय तथा योजना कार्यान्वयनमै सहकार्य नभएको गुनासो चलिरह्यो । २÷४ लाखका योजना पनि प्रदेशले नै कार्यान्वयन गर्दा दोहोरोपना आएको स्थानीय तहको गुनासो थियो ।
गाउँपालिका राष्ट्रिय महासंघले शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर फेरि समन्वय गर्न र खुद्रै योजना नपठाउन ध्यानाकर्षण गराएको छ । गाउँपालिका महासंघले प्रदेशले खुद्रे योजना नहालि प्रथामिकताका आधारमा बजेट बिनियोजन गर्न माग गरेको छ । स–साना आयोजना तथा कार्यक्रममा बजेट पठाउँदा कार्यान्वयनमा दोहोरोपना आउने, व्यवस्थापन लागत बढी लाग्ने र अनुगमन तथा सुपरीवेक्षणमासमेत समस्या भइरहेकाले ठूला आयोजनामा जोड दिन ध्यानाकर्षण गराएको हो । अहिले विकासका कार्यहरु क्षणिक लोकप्रियता आर्जन गर्नेतर्फ उन्मुख रहेको महासंघका अध्यक्ष नवराज ओझाले मुख्यमन्त्री समक्ष ध्यानाकर्षण गराए ।
गाउँपालिका महासंघको ध्यानाकर्षणपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सांसदको सिफारिसलाई स्थानीय तहले नमानिदिने गुनासो गरे । प्रदेश सांसदसँग पनि गाउँका अपेक्षाहरु हुने भएकाले साना योजना पनि हाल्नुपर्ने परिस्थिति रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले स्थानीय तहमा इन्धन प्रयोगमा जथाभावी भएको भन्दै नियन्त्रण गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ०६:३६




