भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भारत भ्रमणको लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन् । गत पुस ११ गते तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री दाहाल आज दिउँसो साढे १ बजे नेपाल वायुसेवा निगमको नियमित जहाजबाट जम्बो टोलीसहित नयाँदिल्ली जानेछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा उनी नयाँ दिल्ली जान लागेका हुन् । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको ४ दिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा हिजो परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको छ । भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् ।
नेपालमा उत्पादित विद्युतको बिक्रीको सुनिश्चितताको प्रयास गर्ने पनि परराष्ट्रमन्त्री साउदले बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र र ऊर्जालगायतका मन्त्री सहभागी छन् । सञ्चारकर्मी ४ जना, सुरक्षाकर्मी ४ जना र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ । सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या ४७ छ भने ५० जना व्यवसायी र १३ जना सञ्चारकर्मीहरु निजी खर्चमा जानेछन् ।
प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ समृद्ध बनाउने दाबी मन्त्री साउदको छ । तर, दुई पक्षीय हितमा स्पष्ट कुरा गर्न नसके दाहालको यो भ्रमणपनि विगतका अन्य प्रधानमन्त्रीहरुको भ्रमण जस्तै औपचारिकतामा सीमित रहने विश्लेषकहरुले बताएका छन् ।
प्रकाशित मिति २०८० जेठ १७ गते बुधबार ०७:५१




