२०८३ साउन २१ गते बिहीबार

पोखराले पाउँला त भारतमा हवाइ स्पेस ?

पोखराले पाउँला त भारतमा हवाइ स्पेस ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार ०८:५५

चिनियाँ लगानीमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रुटबारे जोडतोडका साथ कुरा राख्ने वचन दिएका प्रचण्डको भारत भ्रमणमा रुट विषय टुंगिने र पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेमा पोखरेली विश्वस्त छन् ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तामझामका साथ उद्घाटन गरिएको ५ महिना बितेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतले आफ्नो आकाशमा एयर रुट र एयर स्पेस नदिँदा आजसम्म आन्तरिक उडानमा सीमित छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको लागि दिल्लीमा भइरहँदा एयर रुट बारे सम्झौता हुने अपेक्षा गरिएको छ ।

प्रचण्डको भारत भ्रमण अघि एयर रुटलाई टुंगोमा पुरयाउन भारत गएको टोलीले त्यसलाई टुंगोमा पुरयाउन नसकेपछि प्रधानमन्त्रीको भ्रमणका बेला टुंगोमा पुग्ने आशा गरिएको हो । प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।भ्रमणले पोखरेलीमा पनि आशाको संचार गरेको छ । चिनियाँ लगानीमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रुटबारे जोडतोडका साथ कुरा राख्ने वचन दिएका प्रचण्डको भारत भ्रमणमा रुटकाे विषय टुंगिने र पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेमा पोखरेली विश्वस्त छन् ।

प्रचण्डको भ्रमण अघि भारत गएको नेपाली टोलीलाई भारतले प्रक्रियामा रहेको भन्दै रुट दिन आनाकानी गरेको थियो । कर्मचारी स्तरमा भएको छलफलमा रुटको टुंगो नलागेपछि प्रधानमन्त्रीको भ्रमणमा पोखरालाई भारतले रुट स्पेस दिने विषयमा छलफल हुने बताइएको छ । नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट प्रवेश विन्दुसहित एयर रुट माग गर्दै आएको छ । भारतले नेपालबाट उड्ने विमानलाई महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, विराटनगर र जनकपुरबाट आफ्नो आकाशमा प्रवेश गर्न रुट खुला राखेको छ । ती विन्दुबाट नेपाल प्रवेश गर्ने अनुमति दिन भने वर्षौंदेखि आनाकानी गरिरहेको छ । नेपालले लामो सयमदेखि पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका हवाई प्रवेश विन्दु र रुट दिन भारतलाई आग्रह गर्दै आएको छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान भएपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने व्यवसायीको भनाइ छ । आज भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुने बताइएको छ । बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालनमा रहेको विमानस्थलबाट काठमाडौंसहित देशका विभन्न सहरमा मात्र उडान हुँदै आएको छ । बुद्ध, यति, श्री, सौर्य लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । केही समय अघि पर्यटन मन्त्री सुदन किराँतीले असार पहिलो हप्तादेखि पोखराबाट चिनका सहरहरुमा चार्टर्ड उडान हुने बताएका छन् ।

 

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०८:५५
हजुरको प्रतिक्रिया