काठमाडौं
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएन अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा मुछिएकाहरुको आजदेखि थुनछेक बहस हुने भएको छ । पक्राउ परेका १८ जनाको शुक्रबार बयान लिने काम सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुने काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । यो प्रकरणको बयानमा सबै अभियुक्तले अभियोग इन्कार गरेका छन् । थुनछेक बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् ।
सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले गर्नेछन् भने सरकारी वकिलको बहस सकेपछि प्रतिवादीकातर्फबाट अधिवक्ताले बहस गर्ने जनाइएको छ । दुबै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।
प्रकरणमा पक्राउ परेका १८ र फरार १४ गरी ३२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० गते मुद्दा दायर गरेको छ । यो प्रकरणमा पूर्वमन्त्रीहरु, उच्च पदस्थ सरकारी कर्मचारी लगायत मुछिएका छन् ।
प्रकाशित मिति २०८० जेठ २१ गते आइतबार ०९:१३




