२०८३ साउन २१ गते बिहीबार

पोखरामा तापक्रमको रेकर्ड ब्रेक, मंगलबारदेखि घट्ने

पोखरामा तापक्रमको रेकर्ड ब्रेक, मंगलबारदेखि घट्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २८ गते आइतबार ०९:३८

मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको हो ।

पोखरा

पोखराको तामक्रमले जुन महिनाको अहिलेसम्मको रेकर्ड तोडेको छ । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसपटक शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ ।

मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको हो । ‘अप्रिल र मे महिनामा चाहिँ अलि बढी गर्मी हुन्थ्यो । जुन लागेपछि प्रायजसो वर्षा हुन्थ्यो,’ अर्यालले भने, ‘तर, यसपटक वर्षा भएन । जसका कारण जुन महिनामा तापक्रमको नयाँ रेकर्ड बनेको छ ।’

प्रि मनसुन सिजन र मनसुन सिजनलाई हेरेर विश्लेषण गर्नुपर्ने उनको भनाइ छ । सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री थियो । सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन समयका रुपमा लिइन्छ ।

जुन, जुलाइ, अगस्ट र सेक्टेम्बरका आधा महिनासम्मलाई मनसुन समय भनिन्छ । यसअघि प्रि मनसुन समयमा ३७.४ डिग्रीले नयाँ रेकर्ड बनाएको भए पनि मनसुन सुरु भइसक्नुपर्ने यो समयमा कायम भएको शुक्रबारको तामक्रम अहिलेसम्मै उच्च हो ।

प्रि–मनसुन र मनसुनको विश्लेषण गर्दा पनि पोखराको तापक्रम उच्च विन्दुमा पुगेको मौसमविद अर्यालले जानकारी दिए । ‘अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसकेको हुन्थ्यो । यो पटक अझै ३÷४ दिन सम्भावना न्यून देखिन्छ,’ अर्यालले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो ।

प्रकाशित मिति २०८० जेठ २८ गते आइतबार ०९:३८
हजुरको प्रतिक्रिया