२०८३ साउन २१ गते बिहीबार

चीनबाट पोखरा आउने विमान नेपाल प्रवेश

चीनबाट पोखरा आउने विमान नेपाल प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ६ गते बुधबार ०८:२६

चीनको छेन्दुबाट पोखरा आउने सिचुवान एयरलाइन्सको जहाज नेपालको आकाशमा आइपुगेको छ ।

पोखरा

चीनको छेन्दुबाट पोखरा आउने सिचुवान एयरलाइन्सको जहाज नेपालको आकाशमा आइपुगेको छ । विमानको उडान अवस्था देखाउने वेबसाइट फ्लाइट राडर २४ का अनुसार यो समाचार तयार पार्दासम्म ८ः२४ मिनेटमा विमान नेपालको आकाशमा आइपुगेको हो ।

संखुवासभाको किमाथांकाको आकाशबाट जहाज नेपाल छिरेको हो । सिचुवान एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो । गत पुस १७ गते सञ्चालनमा आएको विमानस्थलमा चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर भएको हो ।

नेपाली समय अनुसार बिहान ६ बजेर ९ मिनेटमा छेन्दुबाट उडेको सिचुवान एयरको विमान ८ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गर्नेछ । छेन्दुदेखि पोखराको उडान करिब ३ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणकाले जानकारी दिएको छ ।

दक्षिण एसियामै पहिलो पटक पोखरामा आयोजना गरिएको नेपाल–चीन फ्रन्डसिप ड्रागन बोट फेस्टिभलमा सहभागी हुने चिनिया पर्यटक तथा खेलाडीहरुलाई सिचुवान एयरको विमानले चार्टर उडानबाट पोखरा लिएर आउँदैछ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दु्तावासको सहकार्यमा असार ८ र ९ गते ड्रागन बोट फेस्टिभल पोखरामा हुँदैछ । ५० भन्दा बढी मुलुकमा यो फेस्टिभल हुँदै आएको छ ।

विमान उत्तरतिरको हवाई रुटबाट संखुवासभा छिरेर काठमाडौंको आकाशहुँदै पोखरा आउनेछ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जना यात्रुसँगै विमान पोखरा विमानस्थलमा अवतरण गर्नेछ । यात्रुलाई पोखरा विमानस्थलमा स्वागत समेत गरिने भएको छ ।

अध्यक्ष तिमिल्सेना, ७ सांसदसहित ९ जना गत जेठ २७ गते काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । सिचुवान एयरको विमान पोखरामा एक घण्टा होल्ड भएर काठमाडौं प्रस्थान गर्नेछ भने त्रिभुवन विमानस्थलमा अवतरण भई नियमित उडानमार्फत् चीनको छेन्दु फर्किनेछ ।

प्रकाशित मिति २०८० असार ६ गते बुधबार ०८:२६
हजुरको प्रतिक्रिया