२०८३ साउन २१ गते बिहीबार

आलोचना बढेपछि गण्डकी विश्वविद्यालयलाई दिने अनुदान सात करोड थप

आलोचना बढेपछि गण्डकी विश्वविद्यालयलाई दिने अनुदान सात करोड थप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ८ गते शुक्रबार ०५:३३

अत्यधिक विरोध भएपछि प्रदेश सरकारले गण्डकी प्रदेश विश्वविद्यालयको अनुदान रकम थप गरेको छ ।

पोखरा । अत्यधिक विरोध भएपछि प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको अनुदान थपेको छ ।

अर्थमन्त्री जीतप्रकाश आले मगरले बजेटमाथि उठेका विषयमा जवाफ दिँदै बिहीबार विश्वविद्यालयलाई कुल २२ करोड रुपैयाँ दिइने जानकारी गराए । ‘पुँजीगत १५ करोड रुपैयाँ र चालु खर्च सात करोड रुपैयाँ विनियोजन गरेका छौं,’ अर्थमन्त्री आलेले भने ।

बजेटमा प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९–०८० लाई विश्वविद्यालय सञ्चालनलाई २४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालु वर्षमा त्यसमध्ये पुँजीगत १८ करोड र चालु ६ करोड रुपैयाँ थियो । आगामी आर्थिक वर्षलाई पुँजीगत र चालु खर्च नखुलाई एकमुष्ठ १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

संसदमा प्रश्न उठेपछि अर्थमन्त्री आलेले १५ करोड रुपैयाँ पुँजीगत खर्चलाई मात्र भएको बताए । अब यो बजेट वार्षिक विकास कार्यक्रम पुस्तिकामा समावेश हुनेछ ।

अन्य विश्वविद्यालयमा पढाइ नहुने विषय र जनउपयोगी शिक्षा दिने उद्देश्य रहेको उनले सुनाए । ‘परम्परागत शिक्षा दिएर प्रदेशको नाम दिन काम लगाउने होइन । यो विश्वविद्यालयलाई अन्य विश्वविद्यालयले अध्ययन–अध्यापन नगराउने खालका, जनउपयोगी शिक्षा दिने, हाम्रो प्रदेशलाई आवश्यक जनशक्ति उत्पादन गराउन विशेष ध्यान दिएका छौं,’ उनले भने ।

प्रदेश सरकारले चाहेअनुसारका जनशक्ति उत्पादन गरे थप आवश्यक स्रोत–साधन जुटाइने अर्थमन्त्री आलेले बताए ।

प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०५:३३
हजुरको प्रतिक्रिया