पोखरा
जिल्ला प्रहरी कार्यालय कास्कीमा बैंकिङ कसुरको मुद्वाको चाङ लागेको छ । प्रहरीमा आउने सबैभन्दा बढी मुद्वा नै बैंकिङ कसुरका छन् । गत आर्थिक वर्ष २०७९-८० मा प्रहरीमा १ हजार ७३४ मुद्वा दर्ता भएको थियो । बैंकिङ कसुरका मुद्वा ५१७ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए । यो कुल मुद्वाको २९.८२ प्रतिशत हो ।
आर्थिक वर्ष २०७८-७९ मा बैंकिङ कसुरको मुद्वा जम्मा १४९ परेको विकले जानकारी दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै साइबर अपराधको उजुरी दिने पनि उस्तै बढिरहेका छन् ।
आर्थिक वर्ष २०७८-७९ मा साइबर अपराधका २९७ उजुरी परेको थियो । २०७९-८० मा त्यो संख्या बढेर ४१९ पुगेको छ । अनलाइन ठगी अन्तर्गत ४०२ निवेदन दर्ता भएको डिएसपी विकले बताए । उजुरीकर्ताले ४ करोड ४५ लाख रुपैयाँ ठगी भएको निवेदन दिएको उनले जानकारी दिए । कास्की प्रहरीले ५७ लाख ५२ हजार ७७० रुपैयाँ पीडितलाई फिर्ता गराएको छ ।
बैंकिङ कसुर, अनलाइन ठगी, साइबर अपराधसँगै सार्वजनिक हीत स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पनि मुद्वा दर्ता धेरै भएको छ । सार्वजनिक हीत स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा ४२१ मुद्वा दर्ता भएको हो । लागु औषध सम्बन्धि १०२ मुद्वा दर्ता भएको छ ।
दर्ता भएको १ हजार ७३४ मुद्वामध्य १ हजार १५९ फर्छयौट भएको छ । ५७५ पर्छयौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी विकले बताए ।
गत आर्थिक वर्षमा कास्की प्रहरीले फरारको सूचीमा रहेका १५३ जना पक्राउ परे । उनीहरुबाट १ करोड ७२ लाख ४२ हजार ९४४ रुपैयाँ बिगो असुल भएको छ । उनीहरुबाट ९७ वर्ष १ महिना १० दिन कैद भुक्तान गर्न बाँकी रहेका थिए ।
प्रकाशित मिति २०८० साउन १७ गते बुधबार १०:०४




