पोखरा
लगातारको झरीले पोखरासहित देशको जनजीवन प्रभावित भएको छ । शनिबार बिहानदेखि लगातार परेको पानी आज आइतबार पनि दिनभर नै पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । उनीहरुका अनुसार यो क्रम सोमबारसम्मै जारी रहनेछ । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको हो ।
पोखरासहित देशका केही ठाउँमा अहिले मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षा समेत भएको छ । शनिबार साँझ पौन ६ बजेको रेकर्ड अनुसार २४ घण्टामा पोखरामा १ सय २२ दशमलव ७ मिलिमिटर पानी परेको छ । आज दिउँसो गण्डकीसहित कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
प्रकाशित मिति २०८० साउन २८ गते आइतबार ०७:३६




