२०८३ साउन २१ गते बिहीबार

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न माग

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २ गते शनिबार ०७:५१

शनिबार राष्ट्र निर्माता गौरव अभियानले पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले संरक्षण गर्नुको सट्टा पृथ्वीनारायणको शालिक चोरी गरेको आरोप लगाएको छ ।

पोखरा

राष्ट्र निर्माता गौरव अभियानले पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्न माग गरेको छ । अभियानले पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राज्यकै लगानीमा पुर्नस्थापना गर्नुपर्ने माग राखेको हो ।

शनिबार राष्ट्र निर्माता गौरव अभियानले पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले संरक्षण गर्नुको सट्टा पृथ्वीनारायणको शालिक चोरी गरेको आरोप लगाएको छ ।

पोखराको पृथ्वीचोकमा २०६४ बैशाख १८ गते पृथ्वीनारायण शाहको शालिक हटाइएको थियो । २०७५ फागुन १ गते सहिद लखन थापाको शालिक ठडियो ।

गत पुस २७ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले लखन थापाको शालिकमुनि पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।

साउन २४ गते विश्व आदिवासी दिवसको दिन निकालिएको र्यालीमा सहभागीले पृथ्वीचोकको पृथ्वीनारायण शाहको प्रतिमा हटाए । प्रतिमा पुर्नस्थपनाको माग गर्दै राप्रपाले दबाब दियो । भोलिपल्ट प्रतिमा पुर्नस्थापना भयो ।

पोखरा महानगरपालिकाले सडकका सबै शालिक पोखरा–२८ जामुनबोटको विभूती पार्कमा राख्ने निर्णय गर्यो । निर्णयसँगै रातको २ बजे पोखरा महानगरले पृथ्विनाराण शाहको प्रतिमा फेरि हटायो ।

प्रतिमा हटाएसँगै अहिले देशैभर पोखराका मेयर धनराज आचार्यको विरोध भइरहेको छ । देशैभरबाट पृथ्वीनारायण शाहको प्रतिमा पुर्नस्थापना गर्न दबाब दिइरहेका छन् । पोखरामा शालिकको राजनीति चर्किएको छ ।

पोखरामा भने शालिक पुर्नस्थापनाका लागि अभियान नै सुरु भएको छ । अभियानले पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापानको माग मात्रै नबोक्ने संयोजक सिरोज विजय कोइरालाले बताए । लखन थापालाई पनि सही सम्मान दिनुपर्नेमा उनको जोड छ ।

‘पृथ्वीनारायण शाह यो देशको निर्माता हुनुहुन्छ । उहाँको स्थान अलग हुनुपर्छ । लखन थापा, जो पहिलो सहिद हुनुहुन्छ उहाँको स्थान अलग हुनुपर्छ’, उनले भने, ‘दुवैलाई अध्ययनको विषय बनाइनुपर्छ । विश्वविद्यालयको पाठ्यक्रममा राखिनुपर्छ । उहाँको गरिमालाई हामी नेपालीले हाम्रा बालबच्चाले पढ्न पाउनुपर्ने स्थिती खडा गर्नुपर्छ ।’

प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०७:५१
हजुरको प्रतिक्रिया