काठमाडौं
प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति आज चयन हुने भएका छन् । ९ वटा विषयगत समितिको सभापति सर्वसम्मत चुनिने भएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ ।
संसदको निर्वाचन भएको नौ महिनापछि विषयतगत समितिको सभापति चयन हुन लागेको हो । मिनी संसदको रुपमा लिइने विषयगत समितिको सभापति चयन नहुँदा अहिले ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने गरिएको छ ।
विषयगत समितिको सभापति चयनका आज निर्वाचन हुनेछ । हिजो बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको मात्र उम्मेदवारी परेको छ ।
एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ । भागवण्डामा नपरेको रास्वपाले अरू समितिमा उम्मेदवार बनाउन सक्ने अवस्था थिएन ।
प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार ०८:१३




