प्रधानमन्त्रीलाई १५ गते पोखरामै भेटेर ध्यानाकर्षण गराइने
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरोला नाका सञ्चालनका लागि मुख्य एजेण्डा बनाउन पोखरेली व्यवसायीहरुले माग गरेका छन् । आगामी ३० भदौमा अमेरिका जाने प्रचण्ड उतैबाट ५ देखि ७ असोजसम्म चीनमा रहने कार्यक्रम छ ।
चीन भ्रमणमा पोखरा र गण्डकी प्रदेशलाई मुख्य केन्द्रमा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरोला नाका सञ्चालन गर्न प्रमुख एजेण्डा बनाउन पोखरेलीले प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने भएका हुन् । प्रधानमन्त्री दाहाल भदौ १५ गते समाजवादी मोर्चा घोषणा कार्यक्रममा पोखरा आउँदैेछन् । त्यही मौकामा पोखरेलीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन, कोरोला नाकामा संरचना निर्माणलगायत ५ वटा मुख्य र केही दीर्घकालीन महत्वका विषयमा चीनसँग राख्नुपर्ने एजेण्डाबारे ध्यानाकर्षण गराउने भएका हुन् ।
चीनकै लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले आन्तरिकमै सीमित हुन पुगेकाले चीनका विभिन्न सहरमा जोड्ने दायित्व पनि चीनकै भएकाले प्रधानमन्त्रीले प्रमुख एजेण्डा बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । अहिलेकै रुट हुँदै चिनियाँ सहर छेन्दू–पोखरा उडान पनि भर्न सकिने र त्यो छोटो र किफायती पनि हुने मुल्मीको भनाइ छ । योसँगै चीनका विभिन्न सहर र हङकङमा मात्रै पनि पोखरामा नियमित उडान भर्ने चीनीलाई सहमत गराउन सकियो भने ठूलो सफलता हुने मुल्मीले बताए ।
अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रेन–वे २५ सयबाट ३ हजार बनाउने सन्दर्भमा पनि चीन सहमत हुन सक्ने देखिएकाले विशेष ऐजण्डा बनाउन पोखरेलीले प्रधानमन्त्रीलाई आग्रह गर्ने भएका छन् । चीन पोखरालाई केन्द्रमा राखेर आर्थिक गतिविधि र विकास गर्न लालायित भएकाले पनि कोरोला नाका खोल्ने सन्दर्भमा पनि प्रधानमन्त्रीको चीन भ्रमण फलदायी बन्न सक्ने पोखरेली व्यवसायीको भनाइ छ । मुल्मीकै अग्रसरतामा सोमबार पोखरामा भएको सरोकारवालाको छलफलमा कोरोला नाकामा संरचना निर्माण गरेर खुलाउन सक्ने हो भने ठूलो उपलब्धि हुने आवाज धेरैको थियो । कोरोला नामा चीनतर्फ संरचना तयार भइसकेको र नेपालतर्फ पनि भन्सार लगायतका संरचना बनाउन चीन ईच्छुक रहेको मुल्मीले बताए ।
कोरोला नाकासँगै गोरखाको रुइला नाका, पोखरामा महावाणिज्यदूतावास स्थापना, नेपाल र पोखरालाई चीनको भ्रमण गन्तव्यमा समावेस गर्न पोखरेली व्यवसायीले मुख्य एजेण्डा बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । पोखराको पर्यटनलाई जगाउनका लागि चिनियाँ पर्यटकलाई फ्रि भिसा गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराईले बताए । पोखरा चक्रपथको विषयमा पनि चीनसँग सम्झौता भयो भने दीर्घकालीन विकासमा महत्व राख्ने नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले बताए ।
प्रकाशित मिति २०८० भदौ १२ गते मंगलबार १०:१५




