पोखरा
पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कमा रहेका ग्यारेज र मोटर पार्टस हटाएको छ । १ दर्जन बढी ग्यारेज र मोटर पार्टस बन्द गराएको हो ।
स्थानान्तरणका लागि समय दिएपनि अटेरी गरेकाले हटाएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । ‘बसपार्ककै जग्गामा सञ्चालन भएकाले हटाएका छौं’, उनले भने, ‘हामी बसपार्क व्यवस्थापनको कामलाई तीव्रता दिइरहेका छौं ।’
बसपार्कमा रहेका कवाडी संकलन केन्द्रलाई भदौ २२ गतेभित्र स्थानतरणको समय दिइएको उनले जानकारी दिए ।
साउन पहिलो सातादेखि पोखरा महानगरले पृथ्वीचोकको सडकमा पार्किङ निषेध गर्दै बसपार्कमा यात्रु ओराल्ने चढाउनुपर्ने अनिवार्य गरेको छ । २ दिन बढी बसपार्कमा सवारी होल्ड गर्न नपाउने नियम छ ।
२०३२ सालदेखि बसपार्कको सपना देखाइए पनि अहिलेसम्म काम हुन सकेको छैन । पानी पर्दा हिलो र घाम लागेपछि धुलोले बसपार्क ढाकिन्छ ।
बसपार्कलाई व्यवस्थित गर्न शौचालय, काउन्टर, रेलिङ निर्माण लगायतको काम भइरहेको छ । थप पूर्वाधार निर्माणको काम जुटेको महानगरले जनाएको छ ।
प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार ०३:०४




