पार्किङ गर्ने अनुमति लिएर क्यासिनो चलाउन खोज्दा होटल सरोबरले पाएन अनुमति
पोखरा
दक्षिण एसियाकै नमूना मानिएको फूलबारी रिसोर्ट र होटल ग्राण्डको क्यासिनो बन्द भएपछि पोखरा क्यासिनोबिहीन बन्न पुगेको थियो । अब भने पोखरामा एउटा क्यासिनो सञ्चालनमा आइसकेको छ भने २ वटा प्रक्रियामा छन् ।
पोखरा लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा क्यासिनो ताज सञ्चालनमा आएको हो । पाँच तारे होटलमा फुल क्यासिनो सञ्चालन हुन सक्ने र ४ ताले होटलमा मिनि क्यासिनो चलाउन पाउने नीतिअनुसार पोखरामा क्यासिनो ताजले अनुमति पाएर सञ्चालनमा आएको पर्यटन विभागका प्रवक्ता तथा आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भट्टराईले जानकारी दिए ।
मिनि क्यासिनोका लागि साढे २ करोड रुपैयाँ सरकारलाई राजश्व बुझाएर मापदण्ड पूरा गरेपछि सञ्चालन गर्न पाउँछन् । आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने ‘मिनी क्यासिनो’ मा २१ करोड रूपैयाँ लगानी भएको र केही दिनमै औपचारिक उद्घाटन गर्ने तयारी रहेको सञ्चालकको भनाइ छ ।
पोखराकै स्विस इन्टरनेसनल होटेल सरोबरलाई भने क्यासिनो सञ्चालन गर्न पर्यटन विभागले अनुमति नै नदिएको हो । मापदण्डबिपरीत निर्माण भएको भन्दै आलोचना खेपेको होटलले पार्किङका लागि अनुमति लिएर क्यासिनो चलाउन अनुमति मागेपछि विभागले अश्वीकार गरेको हो । ह्याप्पी आवर कम्पनीले स्विस इन्टरनेसनलमा क्यासिनो सञ्चालनको तयारी भएको थियो ।
पोखरामा अरु २ वटा क्यासिनो सञ्चालनका लागि तयारी भइरहेको छ । पोखरा–६ मा रहेको हेरिटेज होटेल स्विट्स एन्ड स्पामा भेन्टेन इन्टरटेनमेन्टले क्यासिनो सञ्चालन गर्ने चर्चा यसअघि नै चर्चामा थियो । यसैगरी पोखरा हल्लनचोकको हल होराइजन मलमा पनि क्यासिनो सञ्चालनको लागि तयारी भइरहेको छ । हल्लनचोकमा रोम रिजेन्सी होटल एन्ड क्यासिनो सञ्चालनमा आउन लागेको हो ।
प्रकाशित मिति २०८० असोज २ गते मंगलबार ११:५४




