पोखरा
नेपालको कोरला नाका भनिने चीनको तर्फ लिजी बन्दरगाहमा दुई वटा आधुनिक भवन ठडिएका छन् । ती भवन नाकामा प्रस्थान र आगमनका लागि आवश्यक दुई भवन हुन् । त्यसका लागि मात्र चीन सरकारले नेपाली ७ अर्ब खर्चिएको छ ।
तर नेपाल तर्फको भूभागमा भने २४ नम्बर लेखिएको सीमास्तम्भ मात्र ठडिएको छ । त्यसबाहेक समथर खाली चौरमात्र छ । नेपालतर्फ कोरला नाका सुनसान भएको पनि ६ दशक नाघिसक्यो । सन् १९६० को दशकअघिसम्म कोरला नेपाल र तिब्बतबीचको महत्त्वपूर्ण व्यापारिक नाका थियो । तर खम्पा विद्रोहसँगै बन्द भएको कोरला नाका त्यसपछि भने उठ्न सकेको छैन । कोरला नाका खुलाउने पहल स्वरुप वर्षमा दुईपटक दुवै देशले व्यापारिक मेलाको आयोजना गर्दै आएको थियो । तर कोभिड महामारीसँगै त्यो पनि बन्द भएपछि भने कोरला नाका खुल्नसकेको थिएन । हालैमा प्रधानमन्त्रीको भ्रमणले सकरात्मक आश थिएसँगै कोरला नाका सञ्चालनबारे फेरि बहस सुरु भएको छ ।
चीनले लिजी बन्दरगाह र त्यस नजिकैका स्थानहरुमा गरिरहेको लगानीले नै थाहा हुन्छ चीन कोरला नाका खोल्नका लागि तयार छ । तर नेपालको तर्फबाट कोरला नाका खोल्ने तयारीको पहल शून्य रहेको जानकारहरु बताउँछन् । गत अक्टोबर ३ तारिखमा चीनको लिन्जी प्रान्त हुँदै नेपालसँग जोडिएको लिजी बन्दरगाहा पुगेर फर्किएको पोखरेली टोलीले कोरोला नाका पोखराको विकासका लागि लाइफलाइन हुने बताएको छ ।
पोखराका मेयर धनराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्व शंकर पालिखेले कोरला नाका पोखराका लागि ब्रेक थ्रु हुने विश्वास गरेका छन् । नेपालको उत्तर सीमामा १४ सय किलोमिटरमा तिब्बतमात्र रहेको र यो नेपालको विकासका निम्ति सम्भावनाको ढोका भएको उनीहरुको भनाइ छ । लिन्जी सहरमा सांस्कृतिक कार्यक्रम लिएर पुगेको टोलीले हालै कुटनीतिक छलफल गर्दै कोरोला नाकासम्मै पुगेर विकास र सम्भावनालाई नजिकबाट हेरेर फकिएको हो ।
कोरोला नाका नजिकै उसले बस्ती पनि बसालीसकेको र लिजी नाका हुँदै आयात–निर्यातमा चीनकै अर्को सहरबाट भन्दा पनि सस्तो पर्ने देखिएकाले पनि यो नाका खोल्न चीन आतुर रहेको विश्लेषकसमेत रहेका पूर्वअध्यक्ष मुल्मीले बताए । अहिले चीनसँग खुला भएका नाकाहरुभन्दा कोरोला सबैभन्दा उपयुक्त र सस्तो देखिएको मुल्मीको भनाइ थियो । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले कोरोला नाका पोखराका निम्ति टर्निङ प्वइन्ट हुने बताए । उनले पोखराको विकासका लागि कोरोला नाका खोल्न पहल अब बहस सुरु हुनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरासँग मितेरी साइनो जोडिएको लिन्जीले धेरै सम्भावना देखाएको बताए । पोखरा वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले भृकृटीदेखिको साइनो रहेको चीनसँगको सम्बन्धलाई सृढृढ गर्न अब कोराला नाकाले निकास पाउनुपर्ने बताइन् ।
तिब्बतका विभिन्न सहर घुमेर फर्किएको टोलीले कोरोला नाका हुँदै मानसरोबरसम्मको बाटो खोल्ने हो भने पर्यटन र आर्थिक पाटोमा पोखरा र समग्र गण्डकीका नयाँ ब्रेक थ्रु हुने बताए ।
प्रकाशित मिति २०८० कात्तिक ६ गते सोमबार ०२:१५




