पोखरा
यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आज र भोलि सञ्चालन हुँदैछ । यस कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइन्छ ।
आव ०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दशैं परेकाले आज र भोलि सरकारले सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिएको छ । दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने छ ।
पोखरा महानगरपालिकामा करिब ३५ हजार बालबालिकालाई भिटामिन खुवाइने पोखरा महानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले जानकारी दिए ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निशुल्क खुवाउने गरेको छ ।
प्रकाशित मिति २०८० कात्तिक १७ गते शुक्रबार ०७:२७




