पोखरा
पोखरा महानगरपालिकाको एक वडाले विपन्न र मजदुर परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । पोखरा महानगरपालिका–१३ को कार्यालयले विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
१०९ परिवारको स्वास्थ्य बिमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पैसाको अभावमा उपचार नपाएर वडाबासीले मृत्यु भोग्नुपर्नेछैन’, बरालले भने, ‘हाम्रो कार्यकालभर निशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाइनेछ ।’
वडाले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने योजना अनुरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको उनको भनाइ छ ।
वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान वडाध्यक्ष बरालले बताए ।
वडाले स्वास्थ्य बिमा गरिदिएका परिवारलाई शुक्रबार स्वास्थ्य बिमा कार्ड वितरण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्री र वडाध्यक्ष बरालले वडाका १०९ जना विपन्न तथा मजदुरलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेका हुन् ।
स्वास्थ्य बिमामा समावेश भएका विपन्न तथा मजदुर परिवारले पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको निर्देशक खत्रीले बताए । उनले स्वास्थ्य बिमाको सही सदुपयोग हुनुपर्ने बताए ।
स्वास्थ्य बिमामा आबद्ध भएपछि अब उनीहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालबाट सेवा पाउनेछन् । ५ जनासम्मको सदस्य रहेका परिवारको वडा कार्यालयले ३ हजार ५०० रुपैयाँ बुझाएपछि वर्षदिनसम्म १ लाख रुपैयाँको सेवा लिन पाउनेछन् ।
प्रकाशित मिति २०८० कात्तिक १७ गते शुक्रबार ०५:००




