पोखरा
भूकम्पका कारण ठूलो जनधनको क्षति व्यहोरेको जाजरकोट र रुकुममा पोखरा महानगरपालिकाले नगरप्रहरीसहित राहत र उद्धार टोली पठाएको छ ।
मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा टिम पठाएको जानकारी दिए ।
उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।
टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवं उपचारका आवश्यक सामाग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको महानगरको भनाइ छ ।
‘थप सामग्री र सहयोग महानगरपालिकाको बिपद कोष बाट खर्च व्यहोरिने छ,’ मेयर आचार्यले भने ।
प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०६:०२