२०८३ साउन २१ गते बिहीबार

बिजुली महसुल नतिर्दा गण्डकीको भौतिक मन्त्रालयको विजुली काटियो

बिजुली महसुल नतिर्दा गण्डकीको भौतिक मन्त्रालयको विजुली काटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १९ गते आइतबार ०६:०७

पोखरा गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको...

पोखरा
गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ ।

विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

सिंहका अनुसार मन्त्रालयले मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी छ । प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो ।

कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

‘कारागारले एक महिनाभित्र तिर्छौं भनेर कमिट्मेन्ट गर्नुभएको छ । सिडिओ साबले नै भन्नुभयो,’ प्रमुख सिंहले भने, ‘जडान जरिवाना तिराएर कारागारमा साँझ पुनः लाइन जडान गरिसकेका छौं ।’

तर, मन्त्रालयको विजुली काटिँदासम्म अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको सिंहले बताए । ‘मन्त्रालयबाट अहिलेसम्म कुनै कमिटमेन्ट आएको छैन । महसुल नतिर्दासम्म लाइन जडान हुँदैन,’ उनले भने ।

उनका अनुसार केही समयअघिसम्म कास्कीका अधिकांश सरकारी कार्यालयले महसुल नतिरेको पाइएपछि बाध्य भएर लाइन काट्नु परेको हो ।

यसअवधिमा थुप्रै सरकारी कार्यालयले बक्यौता चुक्ता गरिसकेको सिंहले जानकारी दिए ।

उनले भने, ‘मन्त्रीका क्वार्टरहरुमा पनि लाइन काटेका थियौं । अहिले त सबैले तिरिसक्नुभयो ।’

प्रकाशित मिति २०८० कात्तिक १९ गते आइतबार ०६:०७
हजुरको प्रतिक्रिया