२०८३ साउन २१ गते बिहीबार

पोखराले तोक्यो सयपत्रीको मूल्य, थुंगाको ५ रुपैयाँ

पोखराले तोक्यो सयपत्रीको मूल्य, थुंगाको ५ रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २२ गते बुधबार ११:२६

‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । बाहिरबाट फूलमाला आयतमा प्रतिबन्ध लगाएको महानगरपालिकाले स्थानीय उत्पादन सयपत्री फूलको मूल्य तोकेको हो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, कृषि सञ्जाल, सयपत्री फूल उत्पादक कृषक र वितरकको संयुक्त बैठकले सयपत्री फूलको दररेट निर्धारण गरिएको छ ।

फूलको ग्रेडिङ अनुसार फरक मूल्य निर्धारण गरेको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

उनका अनुसार ‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ । ‘ए’ ग्रेडको थुंगा १५ देखि २० ग्रामको हुनेछ ।

१० देखि १५ ग्राम तौल भएको थुुंगालाई ‘बि’ ग्रेडमा वर्गीकरण गरिएको छ । प्रति थुंगाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।

५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुंगालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिकाले सघाएर १६० किसानले सयपत्री फूलखेती गरेको उनले बताए । ‘त्यसैको हाराहारीमा किसानले आफैंले खेती गर्नुभाछ’, उनले भने, ‘४० बढी नर्सरीले पनि फूलखेती गरेका छन् ।’

पोखरामा झन्डै ३ सय रोपनी क्षेत्रफलमा सयपत्री खेती भएको छ ।

पोखरामा वार्षिक झन्डै ४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने तथ्यांक छ । त्यसको करिब ४० प्रतिशतभन्दा बढी फूल आयत हुन्छ ।

प्रकाशित मिति २०८० कात्तिक २२ गते बुधबार ११:२६

हजुरको प्रतिक्रिया