पोखरा
ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् ।
सहकारी संकटमा परेसँगै फरार भएका नेपालीले मंगलबार फेसबुक लाइभमार्फत आफ्नो जिउधनको सुरक्षा नभएपछि ‘केही समय टाढा’ बस्नुपरेकोे स्पष्टिकरण दिइएका छन् । उनले आफूलाई घरै हतियारसहित धम्की दिइएकोसमेत दाबी गरेका छन् ।
‘केही साथीहरु मेरो घरमा हतियारसहित आई म लगायत मेरो श्रीमति अनि मेरो सानो छोरीको ज्यान मार्ने धम्कीसमेत दिने,’ उनले भनेका छन्, ‘६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिने भनेर दबाब दिएको कारणले म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ ।’
अरु सहकारी पनि डुबेको र आफू सम्पत्ति नभएको मान्छे पनि नभएको नेपालीले बताएका छन् ।
‘मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो । हामी घर जग्गा सम्पति नभएको मान्छे हैनौं,’ उनले भनेका छन्, ‘हामीहरुले चल अचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ नै राखिछोडेको छौंं । हामी केही पनि लिएर हिडेको छैनौं ।’
नेपालीले आफू ७ वर्षदेखि ढोरपाटनको नगर प्रमुखको जिम्मेवारीमा रहेकाले सहकारीमा समय दिन नसकेको र एकैपटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेकोसमेत दाबी गरेका छन् ।
नेपालीले सामाजिक सञ्जालमै वक्तव्य पनि जारी गरेका छन् । वक्तव्यमार्फत उनले आफूले जोडेकोे सम्पत्ति इमेज सहकारीको नभएको समेत स्पष्टिकरण दिँदै सहकारीको समस्या हल गर्न बचतकर्तालाई घरजग्गा हस्तान्तरण गर्न पनि तयार रहेको बताएका छन् ।
‘सहकारीको समस्या बचतकर्ता हरूको समस्या समाधानका लागी सम्पूर्ण बचतकर्ता हरुको नाममा मेरो र मेरो श्रीमतीको नाममा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्नको लागि चाहान्छु,’ उनले भनेका छन्, ‘हस्तान्तरण गर्नका लागि वातावरण मिलाइदिन कानुन निकाय, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाज्यू हरूलाई अनुरोध गर्दछु ।’
प्रकाशित मिति २०८० मंसिर ५ गते मंगलबार ०५:४९




