पोखरा
२५ गतेदेखि सम्पर्कविहीन रहेका तनहुँका १९ वर्षीय संगम मिश्रको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार नदीपुरस्थित सेती नदीमा उनको शव फेला परेको हो ।
पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा मिश्र सम्पर्कविहीन भएका थिए ।
नजिकै रहेको सेती नदीमा हाम फालेको आशंकामा बिहीबार पोखरा १६ दीपमा रहेको सेती सिँचाइ आयोजनाको बाँध खोलेर उनको खोजी गरिएको थियो ।
‘युवकको शव साढे ३ बजेतिरको समयमा भेटिएको छ । अहिले मुचुल्का उठाउने काम भइरहेको छ,’ डिएसपी विकले भने, ࡕ‘शव बुवाले सनाखत गरिसक्नु भएको छ ।’
बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र उपचारकै क्रममा त्यहींबाट मिश्र सम्पर्कविहीन भएका थिए ।
मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएकोबेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको थियो ।
प्रकाशित मिति २०८० मंसिर २८ गते बिहीबार ०५:०९




