सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसन्सविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी दिएका हुन् ।
लामिछानेका वारेस अधिवक्ता अफताब आलमले मंगलबार जिल्ला अदालत काठमाडौंमा कान्तिपुरविरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए।
‘कान्तिपुर पब्लिकेसनले आफ्नो गाली बेइज्जती हुने गरी समाचार लेखेको भन्दै उहाँले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ बमोजिम सजाय र क्षतिपूर्तिस्वरूप सांकेतिक रूपमा १५१ रुपैयाँ माग गर्नुभएको छ,’ उनले भने।
उनकाअनुसार कान्तिपुर पब्लिकेसनले गाली बेइज्जतीसम्बन्धी कसुरको दफा ३०५ र ३०६ बमोजिम कसुर गरेकाले ३०५ अनुसारको सजाय मागदाबी गरिएको हो।
कसैले कसैको गाली गरे/गराएमा एक वर्षसम्म कैद सजाय वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। साथै कसैले कसैको बेइज्जती गरे/गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।
‘समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए, देखिएलगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु’ रवीले लेखेका छन् ।

आफू लोकतन्त्रको बलियो आधारमध्ये एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने भन्दै लामिछानेले अगाडि लेखेको छन्, ‘सहकारी पीडितहरूको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’
लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, प्रधान सम्पादक उमेश चौहान, इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।
प्रकाशित मिति २०८० पुस १७ गते मंगलबार ०३:४०




