काठमाण्डौ ।
सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ ।
गएराति साढे १२ बजे काठमाण्डौको सुन्धारामा रहेको काठमाण्डौ भ्याली अस्पतालमा उनको निधन भएको हो ।
७७ वर्षीय वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिए । हिजो दिउँसो उनलाई केही असहज महसुस भएपछि बेलुकी अस्पताल लगिएको थियो ।
गएको माघ १ गते मात्रै उनलाई गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा ‘धुस्वां सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको थियो । उनका नेपाली र नेपालभाषामा थुप्रै लोकप्रिय गीतहरू छन् । ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘.’, ‘नेपाल मेरो उपहार भो‘’ लगायतका उनका गीतहरू लोकप्रिय छन् ।
उनको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिने उनको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।
राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रकाशित मिति २०८० माघ ५ गते शुक्रबार १०:२३




