२०८३ साउन २१ गते बिहीबार

बाँदरले सताएपछि पोखरामा वडाले चलायो रुख काट्ने अभियान, महानगरले रोक्यो

बाँदरले सताएपछि पोखरामा वडाले चलायो रुख काट्ने अभियान, महानगरले रोक्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १६ गते मंगलबार ०६:१२

वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर–पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दुःख दिएको बताए ।

पोखरा

पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् ।

सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन जारी गरेका हुन् ।

‘‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन’, वडाध्यक्ष पाण्डेले सूचनामा भनेका छन्, ‘साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’

वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर–पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दुःख दिएको बताए ।

‘सबै भएभरको काट्ने भनेको होइन । आफ्नो पुर्जामा भएको काट्न वन कार्यालयले पनि केही गर्दैन,’ उनले भने ।

हाललाई आफ्नो पुर्जामा भएको उत्तिस, चिलाउनेलगायतको रुख काट्न भनिएको वडाध्यक्ष पाण्डेले बताए ।

तत्कालीन समयमा वनविनास रोक्न उत्तिस, चिलाउनेलगायतको रुख रोप्दा काफललगायतको फलफुलको बिरुवा मासिएको उनको दाबी छ ।

वडाध्यक्ष पाण्डेले कटान गरिएका रुख बिक्रिवितरण गर्न भने नपाइने बताए ।

यता, पोखरा महानगरले रुख काट्नेबार महानगरबाट कुनै निर्णय नभएको प्रष्टिकरण दिएको छ ।

महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमा वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् ।

महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले उक्त अभियान तत्काल रोक्न निर्देशन दिइसकिएको जानकारी दिए ।

प्रकाशित मिति २०८० माघ १६ गते मंगलबार ०६:१२
हजुरको प्रतिक्रिया