२०८३ साउन २१ गते बिहीबार

नवलपुरमा पहिचान भयो चरा अवलोकन मार्ग

नवलपुरमा पहिचान भयो चरा अवलोकन मार्ग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ७ गते बुधबार ०५:५२

चरा अवलोकन गर्न रुचाउने पर्यटकलाई यी मार्गले अद्वितीय अनुभव प्रदान गर्ने घिमिरे बताउँछन् ।

पोखरा

चरा प्रेमी पर्यटकलाई लोभ्याउन नवलपुरमा चरा अवलोकन मार्गको पहिचान गरिएको छ । पोखरा पंक्षी समाजको अगुवाइमा तीन वटा चरा अवलोकन मार्गको पहिचान गरिएको हो ।

नारायणी नदीमा डुंगा चढेर झण्डै ३ घण्टासम्म चरा अवलोकन गर्ने ‘बोटिङ मार्ग’ पहिचान भएको छ । यो मार्गको ३ वटा रुट छ । पिठौलीघाट देखि नमुना सामुदायिक बनको बीच भागलाई पहिलो रुटले समेटेको छ । दोस्रो रुटमा जमुनाघाटदेखि अमल्टारीघाटसम्म छ । तेस्रो रुटमा रत्नापुरादेखि भुताहापोस्टसम्मको दुरीलाई समेटेको छ ।

यो मार्गमा १४ प्रजाति भन्दा धेरै हाँस र १० प्रजातिभन्दा बढी बकुल्लोको अवलोकन गर्न पाइने पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

पहिचान भएको अर्को मार्ग ‘देवचुली’ हो । नवलपुरको सबैैभन्दा उच्च पहाडी भुभाग देवचुलीमा ३ घण्टाको सवारी यात्रा र ६ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । यो मार्गमा नेपालमा मात्रै काँडे भ्याकुर, चाँचरहरू, कालिज, घेघरी घाँसेफिस्टो, नहिकुटी गौंथली लगायतका चरा पर्यटक हेर्ने पाउनेछन् ।

लामीचौर बफरजोन अन्र्तगत नमुना सामुदायीक वनमामा पनि चरा अवलोकन मार्गको रुपमा पहिचान गरिएको छ । ५ घण्टा पैदल यात्रामा सकिने नमुना सामुदायीक मार्गमा ८ प्रजातिका गिद्धहरू (डंगर, सुन, लामोठुंडे, सानो–खैरो, सेतो, खैरो, हिमाली, राज गिद्ध), खर मजुर, कालिकण्ठे तोरीगाँडा, ठुलो कस्दरी, खोया हाँस, माछाकुल, झिली लगायत प्रजातिका चराले पर्यटकलाई लोभ्याउनेछ ।

माघ २६ गतेदेखि २८ गतेसम्म पोखरा पंक्षी समाजले नवलपुरको कावासोतीमा तीन दिने दोस्रो संस्करणको चरा उत्सव आयोजना गरेको थियो । उत्सवको बेला ४१ जनालाई चरा अवलोकन तालिम सञ्चालन भएको थियो । तालिम सञ्चालनपछि चरा अवलोकन पदमार्गको अवधारणा बनाएको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

‘नवलपुरमा चरा अवलोकन मार्ग किन नबाउने भनेर छलफल भयो । तालिम सञ्चालन गरेको आसपासको क्षेत्रमा सम्भव छ कि छैन ? सरकोरावालासँगको छलफलले बनाउनपर्छ भन्ने निष्कर्ष बन्यो’, उनले भने ।

चरा अवलोकन गर्न रुचाउने पर्यटकलाई यी मार्गले अद्वितीय अनुभव प्रदान गर्ने घिमिरे बताउँछन् । ‘नवलपुरको समृद्ध जैविक विविधता देखाउन डिजाइन गरिएका यी प्याकेजले पर्यटक, पथप्रदर्शक र इको–एड्भेन्चर खोज्ने एजेन्सीलाई आकर्षित गर्छ’, उनको भनाइ थियो ।

बुधबार पोखरामा पहिचान भएका ३ मार्गको सार्वजनिक गरिएकोे छ । सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमा विविधता थप्न चरा अवलोकन मार्गले मद्दत पु¥याउने बताए । ‘पर्यटनको विविधिकरण गर्नुपर्नेछ । चरा अवलोकन मार्ग एउटा नयाँ प्रडक्ट आयो’, उनले भने । पर्यटनलाई बढवा दिन दक्ष जनशक्तिको अभाव हुन नहुने उनको तर्क छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नविन पोखरेलले चरा अवलोकन गर्न आउने पर्यटक खर्चालु हुने भएकाले आर्थिक हिसाबले फाइदाजनक हुने सुनाए । बजारीकरणको ‘टुल्स’ चराप्रेमी पर्यटक बन्ने उनको भनाइ छ । उनले भने, ‘थोरै व्यक्तिले नै भ्रमण किन नगरुन । तिनिहरु महत्वपूर्ण व्यक्ति हुने भएको कारणले ठूलो प्रभाव पर्यटन क्षेत्रमा पर्छ ।’

प्रकाशित मिति २०८० चैत ७ गते बुधबार ०५:५२

हजुरको प्रतिक्रिया