पोखरा
पर्वतको जलजला गाउँपालिका–२ दहमा मंगलबार मृत फेला परेका एक दम्पतीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालले अनुसन्धानको क्रममा सोधपुछका लागि शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिइएको डिएसपी भुसालले बताए ।
घटनाबारे सोधपुछका लागि दुई आफन्तलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । घटनापछि घरका कारण भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले बताए ।
मंगलबार बिहान जलजला– २ दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घर्ती क्षेत्री घरभित्रै मृत फेला परेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक रुपमा दम्पतीको हत्या गर्न काठ प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ । उक्त दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको छ । उनीहरुको घरबाट गरगहनासमेत हराएको प्रहरीले जनाएको छ र घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । २ छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्को छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् ।
प्रकाशित मिति २०८० चैत २१ गते बुधबार ०४:४०




