पोखरा
साहित्यकार प्रकट पंगेनी ‘शिव’ ले साहित्य क्षेत्रमा पु¥याएकोे योगदानको चर्चा गरिएको छ । लेखनाथको खास्टेताल किनारमा भएको ‘अक्षरयात्रा’ मा सहभागी साहित्यकारले प्रकटको योगदानबारे स्मरण गरेका हुन् ।
‘सम्मान र सम्झनामा प्रकट दाई’ उद्घोषका साथ साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृंखला शनिबार खास्टेताल किनारको जेष्ठी बाराही मन्दिर परिसरमा भएको हो । रसिक र प्रेमिल गजल लेख्नमा माहिर साहित्यकार प्रकटको बैशाख ४ गते ६७ वर्षको उमेरमा निधन भएको छ । वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले प्रकटले नेपाली साहित्य र रंगमञ्चमा अतुलनीय योगदान पु¥याएकोे चर्चा गरे ।
खाष्टेतालमा रोपिएको कमल फूलको संरक्षण गर्दै धार्मिक पर्यटनलाई बढाउन सकिने उनको भनाइ छ । साहित्यकार गणेश पौडेलले स्रष्टाहरुले देशको भाषा, संस्कृति, साहित्यको संरक्षण र विकासका लागि आवाज उठाउनुपर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्य समाजको ऐना भएको बताए । स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान गर्दै गजलसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गजल सन्ध्या पोखराले २०६२ साल असारदेखि निरन्तर अक्षरयात्रा कार्यक्रम गर्दै आइरहेको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ र खास्टेताल टोल विकास संस्थाको स्थानीय व्यवस्थापनमा २१० औं श्रृंखला भएको हो ।
गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा. इश्वरमणि अधिकारी, कवि शिव त्रिपाठी, श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुइकेल, ऋषिकेश बराल, निर्मला पौडेल, सावित्री गिरी, बसन्तमोहन भट्टराई २६ जना साहित्यकारले रचना वाचन गरेका थिए ।
प्रकाशित मिति २०८१ वैशाख १५ गते शनिबार ०७:४३




