पोखरा
तनहुँको दमौली बजारमा सोमबार भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकको सटरमा आगलागी भएको हो ।
जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको सटर भाडामा लगाइएको छ । २३ वटा सटरका २० पसल जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाँइले जानकारी दिए ।
उनका अनुुसार ती सटरमा तरकारी, फलफूल, शैैलुन, मोबाइल, दुध डेरी, स्टेशनरी, कृषी सामाग्री, इलेक्ट्रिक र पान पसल सञ्चालनमा थिए । ‘सबै जलेर नष्ट भएको छ’, प्रहरी निरीक्षक हुमागाँइले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।’
पृथ्वी राजमार्ग छेउैका सटरमा भएको आगलागीबाट ७ करोड ६० लाख रुपैयाँ वराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
१ बजेर १५ मिनेटमा नजिकै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले आगलागीको खबर पाएकोे थियो । झन्डै तीन घण्टा समय लगाएर आगलागी नियन्त्रणमा आएको छ ।
व्यास नगरपालिका, तनहुँ हाइड्रो, पृथ्वी राजमार्ग मुग्लिन पोखरा सडक आयोजनाको दमकल र स्थानीय पानी बोक्ने ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको उनको भनाइ छ । ‘रातको समयमा दमकल पनि पर्याप्त नहुँदा समस्या भयो’, हुमागाँइले सुनाए ।
२०७८ फागुनमा व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेको भूपाल हार्डवयरमा भीषण आगलागी भएको थियो ।
प्रकाशित मिति २०८१ जेठ ७ गते सोमबार १०:५५




