पोखरा
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलवार संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रकम विनियोजन गरिएको बताए ।
आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने पुनले बताए । त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्रीको भनाइ छ ।
आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि ऊर्जा सूचना प्रविधिजस्ता औद्योगिक पूर्वाधार निर्माण, शिक्षा स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता, सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवर्द्धनमा सुधारलाई बजेटको प्राथमिकतामा राखिएको अर्थमन्त्री पुनले जानकारी दिए । आर्थिक सुधारदेखि निजी क्षेत्रको प्रवर्द्धनसम्म बजेट प्राथमिकता उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने उद्देश्यसमेत राखिएको पुनले बताए ।
वैदेशिक लगानी, व्यापार, पर्यटन प्रवद्र्धन र विकास सहायता परिचालन गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी र परिणाममुखी बनाउने र निःशुल्क कानूनी सहायता कार्यक्रमलाई सबै जिल्लामा बिस्तार गर्ने लक्ष्य सरकारले लिएको छ ।
सरकारले बजेटमार्फतसीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने र विदेशबाट ऋण लिने बैंक वित्तीय संस्थालाई कर छुटको व्यवस्था गरेको छ । सरकारले पहिलो पटक प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको घोषणा गर्दै १० करोड बजेटको समेत व्यवस्था गरेको छ ।
प्रकाशित मिति २०८१ जेठ १५ गते मंगलबार ०८:१८




