बागलुङ
निरन्तर वर्षाका कारण बागलुङमा एक दर्शन घर पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–६ को सुल्डाँडादेखि वडा नम्बर ८ लेखानी जाने सडकमा चक्ल्याउने क्रममा लगाइएको पर्खाल र जमिन भासिँदा तीन परिवार विस्थापित भइ सकेका छन् भने अन्य नौ घर पहिरोको जोखिममा परेका हुन् ।
सुल्डाँडादेखि लेखानीसम्मको सडक खण्डमा धेरै ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका हुन् । उनीहरुको परिवारलाई भीमसेन क्याम्पसमा सारिएको वडा अध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए ।
पहिरोले कँडेलको गोठ पुरिएपछि वस्तुभाउ छिमेकीको कोठमा सारिएको उहाँको भनाइ छ । विस्थापित मध्ये कृष्ण कँडेलको परिवार सुरक्षित स्थानमा रहेको पुरानो घरमा सारिएको अध्यक्ष कँडेल बताए। सोही ठाउँको टापुका ११ घर पनि जोखिममा रहेका छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउनका लागि मेसिनको प्रयोग गरेर पहिरो हटाई रहेको उल्लेख गरे । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरि रहेको उहाँको भनाइ छ । विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बस्ने बासको व्यवस्थापन गरेको अध्यक्ष थापा सुनाए ।
पहिलोले वडा नम्बर ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार विस्थापित भएका छन् । यस पनि दर्जन घर जोखिममा छन् । दुइ सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल पनि जोखिममा परेको छ ।
प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०४:५९




