तनहुँ
निरन्तरको वर्षाले पहिरो खस्दा तनहुँमा तीन जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिदाँ ३ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा हिरा नेपाली, अनिषा बास्तोला र श्याम भण्डारी रहेका छन् । शनिबार दिउँसो हिरा नेपालीको घरमाथिबाट खसेको पहिरोमा परेर नेपालीसहित सहयोगका लागि आएका दुई जना जना छिमेकीलाई समेत पहिरोले पुरेको हो ।
अहिले नेपाल प्रहरी र शशस्त्र प्रहरीले घटनास्थलमा उद्दारको काम गरिरहेको छ । पहिरो खसेको देखेपछि गाउँलेहरू सहयोगका लागि नेपालीको घर पुगेका थिए । उनीहरू मध्ये घाईते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको ।
बाढीले तनहुँको भीमाद नगरपालिक-६ मालेबगरका ६ घर डुबानमा परेको छ । यस्तै, म्याग्दे गाउँपालिका-४ र ७ को घुम्तीबजार पनि डुबानमा परेको छ । व्यास नगरपालिका-५ मानुङमा पहिरोले ३ वटा घरमा क्षति पुगेको छ । शुक्लागण्डकीको साँखेमा १ घरमा क्षति पुगेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत दमौली पोखरा सडकखण्डको शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा बाढीले अस्थायी कल्भर्ट बगाउँदा सडक अवरुद्ध बनेको हो । यहि खण्ड स्थित मनहरिमा सडकमा लेदो बगेका कारण सडक अवरुद्ध छ । सडक सञ्चालनका लागि कजवे निर्माणको काम भैरहेको तर अझै केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडकमा बगेको लेदोका कारण अवरुद्ध आँबुखैरेनी खण्ड भने अहिले सुचारू छ ।
शुक्रबार साँझ देखि परेको अविरल बर्षाले स्थानीय खहरे खोलासंगै सेती, मादी र मस्र्याङदीमा पानीको वहाव निकै बढेको छ । पहिरोले अधिकांश ग्रामिण सडक क्षतिविक्षत भएका छन् । दुलेगौंडादेखि ढोरफिर्दी, राईपुर जाने सडक पहिरोका कारण प्रभावित बनेको छ । भिमादबाट रिसिङ, घिरिङ जाने सडकको ठाउँ ठाउँमा अवरोध छ ।
प्रकाशित मिति २०८१ असार २२ गते शनिबार ०७:३२




