पोखरा ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको छ ।
शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
विरगन्जबाट काठमाडौं जाँदै गरेको विंगर बगाएको डिएसपी रिजालले बताए । त्यसमा अन्दाजी २० देखि २२ यात्रु रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस पनि पहिरोले बगाएको छ । उक्त बसमा ४२ यात्रु रहेको अनुमान प्रहरीको छ ।
अहिले एसपी, डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन् । पहिरोले दुवैतर्फ सडक अवरोध भएको छ ।
यता भारी बर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । तनहुँको व्यास नगरपालिका– १२ घाँसिकुवामा सडकमाथिबाट पहिरो खसेको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार रायले बताए ।
सडक खुलाउने प्रयास भइरहे पनि ठुलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने उनले बताए । भारी बर्षापछी बुल्दी तनहुँको बुल्दीखोलामा आएको बाढिले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
व्यास नगरपालिका–२ स्थित केराघारि, मालेबगर, व्यास–४ को तल्लो सिमलटार र व्यास–१ को करङकाठ बसपार्क क्षेत्रमा राती २ बजेतिर बस्तीमा बुल्दि खोला पसेपछि भागभाग भएको थियो ।
घरको तल्लो तलाका सामनसमेत बाढिले बगाएको जनाइएको छ । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।





