२०८३ साउन २१ गते बिहीबार

स्कुल बस दुर्घटनाः पोखरा महानगरले बनायो छानविन समिति

स्कुल बस दुर्घटनाः पोखरा महानगरले बनायो छानविन समिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन १४ गते सोमबार ०५:११

रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको म्याद दिइएको छ ।

पोखरा

सोमबार विहान भएको एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले छानविन समिति गठन गरेको छ ।

शिक्षा महाशाखा प्रमुख शिक्षा निर्देशक हेमप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समिति सदस्यमा महानगरमा कार्यरत उपसचिव कृष्णप्रसाद तिवारी, नगर प्रहरी निरीक्षक पुरुषत्तोम थापा, मेकानिकल इञ्जिनियर सरोज चालिसे र सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी रहेका छन् ।

दुर्घटना हुनुको कारण, सवारी साधन, चालकको अवस्था लगायतका विषयमा अध्ययन गरी प्रकृतिका दुर्घटना न्यून गर्न समिति बनाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए । समितिले अवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्ने उनको भनाइ छ । रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको म्याद दिइएको छ ।

सोमबार बिहान पोखरा महानगरपालिका–२१ रामदीबाट विद्यार्थी लिएर फर्कदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई घुम्ती सडकबाट झन्डै ६० मिटर तल खसेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचारको क्रममा पोखरा महानगरपालिका–२१ रामदीकी ३३ वर्षीय आरती विक र ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो । मृतक आरती र प्रिन्स आमा छोरा हुन् । आरती विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरता थिइन् ।

दुर्घटनामा चालकसहित २८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा १३ जनाको उपचार भइरहेको छ ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

विरौटामा रहेको एलपी देवकोटा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावकसँगै एकजना छोरेपाटन माविकी विद्यार्थीसमेत बस दुर्घटनामा परेका छन् ।

प्रकाशित मिति २०८१ साउन १४ गते सोमबार ०५:११
हजुरको प्रतिक्रिया