काठमाडौं
भीषण वर्षासँगै काठमाडौंका नदी र खोलामा आएको बाढीले जनजीवन प्रभावित बनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान परेको थियो ।
काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राम मन्दिरबाट छ जनाको उद्धार गरिएको छ ।
मंगलवार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो । बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् ।
अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रकाशित मिति २०८१ साउन १६ गते बुधबार १०:५०




