पोखरा
पोखरादेखि हिमालसँग मितेरी गाँस्न पुग्नलाई सबैभन्दा छोटो छ माछापुच्छ्रे नमुना पदमार्ग । ग्रामिण बस्ती, छहरापहरा हुँदै हिमालको सामिप्यमा पुग्न सकिने पदमार्गमा त्यतिसारो चहलपहल हुदैन । सिजन अफसिजनमा यो मार्ग हुँदै कोर्चाङ पुग्ने पदयात्रीको संख्या नगन्य छ ।
माछापुच्छ्रे नमुना पदमार्ग विकास भएको दुई दशक पुग्यो । तर, खास पर्यटकको पदचाप नभएपछि अहिले ग्रेट माछापुच्छे पदमार्गको नाममा घाचोक–खुमैको नयाँ पदमार्ग विस्तार भएको छ । ग्रेट माछापुच्छे पदमार्ग हुँदै खुमैडाँडा पुग्ने पर्यटक बढेपनि माथिल्लो डाँडा कोर्चा भने ओझेलमा परेको छ । अधिकांश पर्यटक खुमै पुगेर फर्कन्छन् । खुमैको शिरानमा माछापुच्छ्रेसँग कुम जोडेर बसेको कोर्चा मनोरम भएपनि पर्यटक उक्लन कन्जुस्याँइ गरिरहेका छन् । घाचोकदेखि खुमै, कोर्चा हुँदै इमु र इमुदेखि कोर्चा, खुमै हुँदै घाचोक जताबाट गएपनि सहज हुने ग्रेट माछापुच्छे पदमार्गका कोषाध्यक्ष नारायण गुरुङ बताए ।
पोखराको हरिचोकदेखि साढे १ घन्टाको सवारी यात्रामा पुगिन्छ माछापुच्छ्रे गाउँपालिकाको इमु गाउँ । इमु गाउँबाट सुरु हुन्छ माछापुच्छ्रे नमुना पदमार्गको असली पदयात्रा । एक दिनमै ३ हजार ६८२ मिटर उचाईमा रहेको कोर्चा पुग्न सकिन्छ । यो पदमार्गले पर्यटकको मन लोभ्याउँछ । प्रुम्दुम, मेरवाङको पूरानो भैसि गोठ हुँदै गण्डकी प्रदेशकै अग्लो दाबी गरिएको आलंगे झरनाको दृश्यले नलोभिने सायदै होलान । इमुबाट उकालो चढेपछि ११ घन्टामै कोर्चा पुग्न सकिन्छ । कोर्चाबाट देख्न पाइन्छ एकैै लहरमा मुस्कुराएर बसेका अन्नपूर्ण प्रथम, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण साउथ, गन्धर्व, बुद्ध, मर्दी लगायत २० वटा हिमालका चुचुरा । पदयात्रीले स्थानीय सँस्कृति र परम्परामा घुलिने मौका पाउने पदयात्रा व्यवसाय रेशम अधिकारीले बताउँछन् ।
२०५८/५९ सालमा यो पदमार्गको पहिचान भएपनि प्रचारप्रसार हुन सकेको छैन । प्रचारप्रसार नहुँदा पूर्वाधारको अभाव छ । माछापुच्छ्रे नमुना पदमार्गकोे प्रबद्र्धनमा जुटेका स्थानीय पर्यटन व्यवसायीले पूर्वाधार विकास र प्रचारप्रसार गर्दै पर्यटक भित्र्याउन कस्सिएका छन् । माछापुच्छ्रे नमुना पदमार्ग व्यवस्थापन समिति अध्यक्ष उत्तमकुमार तामाङ पदमार्ग विकासका लागि प्रचारप्रसार र पूर्वाधार आवश्यक रहेको बताए ।
२०७९ को चैतमा माछापुच्छे« गाउँपालिकाको १६ औं कार्यपालिका बैठक खुमै डाँडामा बस्यो । खुमैको प्रबद्र्धनमा जुटेको गाउँपालिकाले पदमार्ग र कोर्चाको विषयमा त्यति चासो दिएको छैन । खुमैडाँडामा पुग्ने धेरै पर्यटक कोर्चा पुग्दैन । खुमैडाँडा पुगेका पर्यटकलाई कोर्चा हुँदै इमु झार्न सक्ने हो भने एक दिन भएपनि बसाँइ लम्ब्याउन सकिन्छ ।
प्रकाशित मिति २०८१ साउन २० गते आइतबार ०३:००




