बागलुङ
बर्खाकै समयमा पनि कालीगण्डकी नदीको दोहन भएको छ । कालीगण्डकी नदीको बागलुङतर्फ दोहन भएको हो । मध्यरातमा सहस्रधारा पारी भाटेखोला लगायतका स्थानमा डोजरनै प्रयोग गरेर नदीजन्य पदार्थको दोहन हुँदा सरोकारवाला निकाय मौन छन् ।
कालीगण्डकी दोहनकर्ताले प्रहरी र प्रशासनलाई चुनौती दिएर अवैध रुपमा दोहनमा सक्रिय भएका छन् । नदीजन्य पदार्थ रातीमा संकलन गरे पनि कालीगण्डकी किनारमै भण्डार गरेका हुन्छन् । तर, प्रहरी प्रशासनले कारबाही गर्न हिम्मत जुटाउन सकिरहेको छैन ।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ, भाटेखोला बगरमा तीन वर्ष यता स्थानीय तहले सर्वोच्चको आदेश मान्दै ठेक्का लगाउन सकेको छैन । बागलुङतर्फकै खनियाघाटमा समेत दाहोन रोकिएको छैन । तर, अवैध नदी दोहान भइरहदा स्थानीय सरकारलको राजस्व गुमेको । क्रसर व्यवसायीको मनलाग्दी मौलाएको छ । म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डी दोहोनले शालिग्राम शिलासमेत संकटमा परिसकेका छन् ।
पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन हुँदै आए पनि पछिल्लो समय बागलुङ तर्फको सहस्रधारा पारीको भाटेखोला र खनियाघाट क्षेत्रमा दोहन सुरु भएको हो । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । कानुनी व्यवस्थाको धज्जी उडाउँदै दोहन भइरहेको छ ।
प्रहरी प्रशासन र स्थानीय तहको मौनताको कारण दोहनले प्रश्रय पाइरहेको अधिवक्ता राम शर्माले बताए । दोहोन रोक्नका लागि बागलुङको प्रहरीले सक्रियता नदेखाएको उनको आरोप छ ।
नदीजन्य पदार्थको नियमन गर्ने निकाय स्थानीय तह भएपनि सुरक्षाका हिसाबले प्रहरी चनाखो रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक ऋषिराम कँडेलले बताए । उनले दोहोन भइरहेको सूचना पाउन साथ परिचालन भएका प्रहरी त्यहाँ पुग्दा दोहनकर्ता भाग्ने गरेको बताए ।
प्रकाशित मिति २०८१ साउन २५ गते शुक्रबार ०६:५८




