काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको बताएका हुन् ।
सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरु यसबाट झनै बढी पीडामा परेको उनले उल्लेख गरे । विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको उनको भनाइ छ ।
त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने र देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको अध्यक्ष नेपालले बताए । देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।
प्रकाशित मिति २०८१ भदौ ७ गते शुक्रबार ०८:३३