२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा ९ मन्त्रालयकाे सहमति बन्दा एमालेकाे भागमा ४ मन्त्रालय

गण्डकीमा ९ मन्त्रालयकाे सहमति बन्दा एमालेकाे भागमा ४ मन्त्रालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १३ गते बिहीबार ०२:२८

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी रहेको एक मन्त्रीले बताए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका मनाङे र फणीन्द्र यथावत

पोखरा । गण्डकी प्रदेश सरकारमा सामेल हुन आतुर एमाले अन्तत ४ मन्त्रालयमा चित्त बुझाएरै सरकारमा सहभागि हुने भएकाे छ । लामाे समयकाे छलफल र रस्साकसीविच प्रदेशमा मन्त्रालयकाे संख्या ९ पुर्याउने विषयमा नेपाली कांग्रेस र एमालेबीच सहमति भएपछि अब एमालेबाट ४ जना मन्त्री बन्ने पक्का भएकाे छ ।

कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीच ९ मन्त्रालय बनाउने सहमति भइसकेको छ । न्यौपानेका अनुसार अबकाे २/४ दिनमा गण्डकीकाे मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र जितेका राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्रीमा यथावतै राखेर कांग्रेस–एमालेबीच ४/४ मन्त्रालय बाँडने अडान कांग्रेसले राखेकाे थियाे भने मन्त्रालय धेरै नबनाउने बरू फणीन्द्र र मनाङेलाई हटाउनुपर्नेमा एमालेको जोड थियो । तर, मन्त्रालय फुटाएर संख्या बढाउने फणीन्द्र र मनाङेलाई नहटाउने मुख्यमन्त्री पाण्डेले अडान लिँदा गण्डकी मन्त्रिपरिषद्ले पूर्णता पाएकाे थिएन ।

मुख्यमन्त्री पाण्डेको अडानमा एमाले लचिलो बन्दा गण्डकीमा ४ मन्त्रालयमा चित्त बुझाएकाे हाे ।

मुख्यमन्त्री पाण्डेले एमालेबाहेक नै नीति तथा योजना आयोगमा नेसपा र राप्रपाबाट सदस्य नियुक्त गरेर पूर्णतासमेत दिएका थिए भने मनकामना क्षेत्र व्यवस्थापन समितिमा पनि कांग्रेस निकटका व्यक्ति अध्यक्ष नियुक्त गरेका थिए । पाण्डे प्रेस रजिस्ट्रारसमेत नियुक्त गर्ने तयारीमा छन् ।

मुख्यमन्त्री पाण्डेले पार्टीमा शेखर कोइराला र गगन थापा समूहलाई समेत मिलाउन कांग्रेसबाट थप एक जना मन्त्री बनाउन चाहन्थे । तर, मन्त्रालयको संख्या ९ बाट नबढ्ने भएपछि अब शेखर–गगन समूहबाट नबन्ने देखिएको छ ।

‘अब मन्त्रिपरिषदमा एमालेबाट मात्र मन्त्री आउने छन् । कांग्रेसको अब च्याप्टर क्लोज भइसक्यो’, एक नेताले भने, ‘मन्त्रालय केके रहने भन्ने पनि लगभग टुंगिइसकेको छ ।’ ९ मन्त्रालयमा सहमति भएसँगै अब सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय बनाउने र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट मनाङेको जिम्मेवारी हेरफेर गर्ने योजना छ । मुख्यमन्त्रीसँगै रहेको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय बनाउने तयारी रहेको एक मन्त्रीले बताए ।

अहिले कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ छन् । फणीन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक मन्त्री छन् । फणीन्द्रको मन्त्रालय यथावत राखेर मनाङेको भौतिक पूर्वाधार मन्त्रालयसहित लिएर एमाले सरकारमा जाने एक नेताले बताए ।

एमाले संसदीय दल तथा नेता खगराजले मुख्यमन्त्रीसँग कुनै विषयमा अहिले असहमति नरहेको र छिट्टै सबै टुंगिने बताए । ‘मुख्यमन्त्रीसँग छलफल गरेर छिट्टै टुंग्याउँछौं’, अधिकारीले भने । एमालेले भूगोल, पार्टीभित्रको समूह र महिला पुरुषको सन्तुलन मिलाएर मन्त्री छान्ने तयारीमा नेता अधिकारी छन् ।

संविधानअनुसार कुल सांसदको २० प्रतिशत मन्त्रालय बनाउन सकिने हुँदा ६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ । यसअघि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई खगराज आएपछि ७ वटामा झारेका थिए ।

एमाले नेतृत्वको सरकारलाई बिस्थापित गर्दै २८ गते बडो सकसपूर्ण हिसाबले विश्वासको मत लिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।

२ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका पाण्डेले दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाको सहयोगमा विश्वासको मत पाएका थिए ।

प्रकाशित मिति २०८१ भदौ १३ गते बिहीबार ०२:२८
हजुरको प्रतिक्रिया