दमौलीस्थित मादी पुल नजिकै सडक भासियो
तनहुँ ।
पहिरोका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डमा मात्रै ४ ठाउँमा सडक अवरुद्ध छ । राजमार्गको दमौली, घाँसीकुवा, चुनपहरा र चिसापानीमा सडक अवरोध छ ।
दमौलीस्थित मादी पुल नजिकै सडक भासिएको छ । मादी पुलखण्डमा रहेको सिमलगैरी खोल्सीमा बनाइएको डाइभर्सन भासिएकोले मादी नदीदेखि पूर्वतर्फको सडक पूर्णरूपमा बन्द भएको छ ।
यस्तै, घाँसीकुवामा पहिरो खस्पछि डुम्रे–दमौली सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । गएराति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
लेदोसहित खसेको ठुलो पहिरोका कारण दुवैतर्फ सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाँसीकुवामा यसअघि भदौको पहिलो हप्ता पनि ठुलो पहिरो खसेको थियो । अग्लो भिरबाट पहिरो खस्दा पहिरो पन्छाउन समय लाग्ने गरेको छ ।
यसैगरि पृथ्वीराजमार्ग अन्तर्गत नै डुम्रे–मुग्लिन सडकखण्डमा २ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध छ । बन्दीपुर १ चिसापानी र बन्दिपुर ४ चुनपहरामा पहिरो खसेको हो ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको कामको शिलशिलामा खनिएको भिरालो जमिनहरूमा पहिरोको जोखिम देखिएको छ ।
प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०९:१३




