म्याग्दी ।
प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउने चिठीपत्र आदानप्रदानको माध्यममात्रै नभई सेवामा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
म्याग्दीमा १५० वर्ष विश्व हुलाक दिवसको अवसरमा बुधबार जिल्ला हुलाक कार्यालयले सदरमुकाम बेनीबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले हुलाकको पूरानो सेवालाई निरन्तरता दिदैं नयाँ र आधुनिक सेवाहरू विस्तार गदैं जानुपर्नेमा जोड दिए ।
दिवसको अवसरमा बेनीबजार परिक्रममा गरी जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीमा खरिदार एवम् सूचना अधिकारी सम्झना भण्डारी बानियाँ र हल्कारा सुनिता श्रेष्ठलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । जिल्ला हुलाक कार्यालयमा प्रमुख रमेश अधिकारीले पछिल्लो समय म्याग्दीको हुलाक कार्यालयले रुपान्तरित सेवा अन्तरगत इ–कमर्सको अवधारणाको प्रयोगसँगै चिठीपत्र बाहेक खाद्यान्न साम्रागी लत्ताकपडा, मोबाइल, औषधि लगायतका मालसामान पठाउने गरेको जानकारी दिए ।
गत बर्ष म्याग्दीबाट चिठीपत्र सहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएका थिए । म्याग्दीमा पाँचवटा पालिकास्तरीय हुलाक र अतिरिक्त हुलाक २९ वटा छन् भने हुलाकी १ र हल्कारा २६ जना कार्यरत छन् । कार्यक्रममा जिल्ला समन्वय अधिकारी अमृत सुबेदी, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति २०८१ असोज २३ गते बुधबार ०१:५९




