पोखरा
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ। शुक्रबार साझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो ।
रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरु प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए ।
जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।
जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।
रास्वपा सभापति लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप लागेको छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई हिजो अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा ल्याएको हो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गर्दै आएका छन् ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई प्रहरीले संगठित अपराध र कीर्ते लिखतमा पनि अनुसन्धान गर्ने भएको छ ।
संसद्को सहकारी ठगी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले सहकारी ठगी र कीर्ते गरेको उल्लेख छ । समितिले प्रचलित कानूनअनुसार कारबाही अघि बढाउन भनेकाले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र कीर्ते लिखतमा अनुसन्धान हुने भएको हो । प्रहरीले यी तीनै कसूरमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने छ ।
प्रकाशित मिति २०८१ कात्तिक ३ गते शनिबार ०७:४२




